काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपा (माओवादी) का वैकल्पिक पोलिट ब्युरो सदस्य सुरेश वाग्ले र अर्का नेता भीमसेन पोखरेल प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
दुवै नेताको स्मृति दिवसका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले उहाँहरुको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे ।
पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार दुवै शहीदका तस्वीरमा अध्यक्ष दाहालले फूलमाला चढाई श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । गोरखाको आँपपीपल गाविस –५ रातडाँडामा २०१० साल भदौ २४ गते जन्मिनु भएका वाग्ले विंसं २०५६ भदौ २३ गते आजकै दिन पार्टीको कामका सिलसिलामा अर्का नेता पोखरेलसंँग गोरखामा मारिएका थिए ।
वाग्ले २०५५ सालमा तत्कालीन नेकपा(माओवादी) को पोलिटब्युरोको वैकल्पिक सदस्य बन्नुभएको थियो । उहाँ २०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा नेपालका तर्फबाट गोरखा क्षेत्र नं२ को उम्मेदवार समेत रहेका थिए। पोखरेलले भने माओवादीको प्लाटुन कमाण्डरका रुपमा काम गरेका थिए ।





















