काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने भएको छ । सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी ओली, प्रचण्ड र महासचिव विष्णु पौडेलसहितको छलफलमा बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो । यसअघि साउन १३ गते बैठक स्थगित भएको थियो ।
बैठकमा पार्टी विवाद समाधनका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन पेश हुनेछ । नेकपा सचिवालयको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाएको ६ सदस्यीय कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य थिए ।
कार्यदलले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने, सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने, आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने सुझाव दिइएको छ ।
त्यस्तै, सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने, सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने, कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समितिको बैठक बोलाउने लगायतका सुझाव कार्यदलले दिएको थियो ।
गत बिहीबार बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन राजनीतिक प्रस्तावका रुपमा स्थायी कमिटिमा लैजाने निर्णय गरेको थियो ।





















