गोरखा / नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) पालुङ्गटार नगर संगठन कमिटीले कोरोना संक्रमणको जोखिम समुदाय स्तरमै देखि सक्दा पनि नगरपालिकाले नमुना परिक्षणमा उचित ध्यान नदिएको भन्दै आज नगर प्रमुखलाई ध्यानकर्षण गराएकोे छ ।
पार्टीका नगर कमिटीका अध्यक्ष अजय देवकोटा ‘विवस चिन्तन’ सहितको टोली नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई ज्ञापन पत्र बुझाउदै तत्काल नमुना परिक्षण दायरा बढाउन माग गर्दै नगरपालिको ध्यानाकर्षण गराएको हो ।
‘कोभिड संक्रमण नियन्त्रका लागी नगरपालिका भित्र स्थापना भएका क्वारेन्टिन व्यवस्थित छैन, पत्रमा भनिएको छ, आँपपिपल हस्पिटलमा बनाइएको भनिएको आइसोलेसन प्रचारमा मात्रै सिमित राखिएको छ ।’ त्यस्तै कोरोना भाइरसको बर्तमान संक्रमणको व्यबस्थापनका लागि नगरपालिकाले सर्वपक्षीय रुपमा अहिलेसम्म कुनै पनि योजना निर्माण नगरेको भन्दै नेपाल सरकारको उच्चस्तरीय समितिको मापदण्ड अनुसार नै समिति गठन प्रक्रिया अगाडी बढाउन नेकपाले माग गरेको छ ।
‘कोभिड मारमा परेका वर्गहरुलाई न्यायोचित राहत वितरण अहिलेसम्म हुन सकेको छैन, नेकपाले भनेको छ, ‘नगरपालिकाले संक्रमणका कारण समस्यामा परेका नागरिकहरुको राहात पुर्याउन ध्यान पुर्याउनु पर्छ ।’ त्यस्तै स्थानीय सरकार गठन पश्चात हालसम्म बजेट सार्वजनिकीकरण समिक्षा जस्ता जनतालाई सुसूचित हुने कार्यक्रम नगरपालिकाले नगरेको भन्दै नेकपा नगर संगठन कमिटिले आलोचना गरेको छ ।
‘आर्थिक बर्ष २०७७/ ०७८ का लागि नगरसभा सम्पन्न अहिलेसम्म सम्पन्न हुन सकेको छैन, पत्रमा भनिएको छ, ‘यसले गर्दा हालसम्म बजेट बिनियोजन हुन सकेको छैन।’ त्यस्तै नगरपालिकामा रहेको एक मात्र हस्पिटल आँपपिपल हस्पिटललाई सामुदायिकको नाममा समानान्तर रुपमा अगाडी लैजाने कुरामा बढावा दिए पनि त्यसको सञ्चालन व्यबस्थापन साथै पारदर्शिताको बारेमा नगरपालिकाले कुनै ध्यान नदिएको नेकपाले बताएको छ ।
ज्ञापन पत्रमा नगरपालिका मातहत रहेका सवारी साधनहरु गाडी, मोटरसाइकल व्यक्तिगत प्रयोजनमा दुरुपयोग भएको पाइएको भन्दै तत्काल रोक्न माग गरिएको छ ।
स्वआर्जन लगायत बिभिन्न नाममा गरिएको अनुदान वितरण बिना मापदण्ड गरिएको र सोको वितरण प्रक्रियामा अनिमियतता भएको पाइएको नेकपाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
त्यस्तै नगरपालिकाका हरेक खरिद प्रक्रिया सार्वजनिक खरिद नियमावली भन्दा बाहिर रहेर गरिएको आरोप लगाउदै १० बुँदे ज्ञापनपत्र बुझाइएको नेकपाको गोरखाका युवा नेता आशिस देवकोटाले जानकारी दिनुभयो ।























