हेटौंडा / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मकवानपुरको अधिकांश सदस्यले पार्टी परित्याग गरेका छन्।
शुक्रबार मकवानपुरको भीमफेदी गाउँपालिका–९ को लेकाली बसिँफाट माविमा एक कार्यक्रम गरेर जिल्ला सेक्रेटरी सहित १ सय ३८ जनाले पार्टी परित्याग गरेका हुन्। जिल्ला सेक्रेटरी जयराम रायमाझी(पासाङ), नेकपाको ब्युरो सदस्य तथा प्लाटुन कमाण्डरहरु धन बहादुर थिङ(विमल) र किरण, अखिल नेपाल क्रान्तिकारी महिला संगठन नारायणी ब्युरो सदस्य रेखा मगर, जिल्ला सचिवालय सदस्य सोम घलान, यस्तै प्लाटुन सहायक कमाण्ड सन्जु, जिल्ला सदस्यहरु नेत्र गौतम, सन्दिप ढुंगाना, जुरे घिसिङ सहित विप्लव नेतृत्वको नेकपा मकवानपुरको राजनीतिक टिम र सैन्य टिमको ठूलो संख्याले पार्टी परित्याग गरेको हो।
‘व्यक्तिवाद हाबी, विचार छोडेको छैनौं’ पार्टी परित्याग कार्यक्रममा बोल्दै सेक्रेटरी पासाङले नेत्र विक्रम विप्लव नेकपामा व्यक्तिवादी चरित्र हाबी भएको बताए। कम्युनिस्ट पार्टीको नाममा गलत क्रियाकलापतिर समेत संग्लन भएको पाइएको भन्दै उनले केही व्यक्तिको दासको निम्ति काम गर्न नसक्ने भन्दै १ सय ३८ जना विभिन्न कमिटी र जनवर्गीय संगठनमा भएकाहरुले पार्टी परित्याग गरेको बताए। सरकारले स्वतन्त्र नागरिकको रुपमा परिभाषित गरेको नागरिकको रुपमा अब जीवनयापन गरेता पनि समाजवादको विचारलाई भने आफूहरुले नछोड्ने पासाङले बताए ।
कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले प्रतिबन्धित नभई स्वतन्त्र र खुला समाजमा आउनेहरुको स्वागत गर्ने बताएका थिए। पार्टी परित्यागमा यसअघि नै नेकपा परित्याग गरेका जिल्ला पूर्वइन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’, नेकपा नेता विष्णुु विष्ट लगायतको उपस्थिति रहेको थियो।





















