काठमाडौं / ललितपुरमा भोलि बिहानदेखि कर्फ्यू लगाउने निर्णय गरिएको छ। भोलि बिहान ४ बजे देखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको हो।
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन , प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुखसहितको उपस्थितिमा भएको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जानकारी दिएका छन्।
उनले स्थिति नियन्त्रण भन्दा बाहिर नजान दिन कर्फ्यू लगाउने निर्णय गरिएको बताएका छन्। स्थानीय प्रशासनले चक्रपथ भित्रका क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको हो। उपत्यकामा निषेधाज्ञा जारी भएकै अवस्थामा रातो मच्छिन्द्रनाथको रथ तान्ने भनेर निस्किएका पाटनका स्थानीय र प्रहरी बीच बिहीबार करिब ३ घण्टा झडप भएको थियो।
झडपका क्रममा प्रदर्शनकारीले एक जना ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरेका थिए। झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवै तर्फ कयौँ घाइते भएका थिए।





















