काठमाडौ / न्यायपरिषद्ले प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशलाई आव २०७६/ ७७ को सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
परिषद्ले आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र गत साउन १ गतेदेखि यही भदौ २८ गतेसम्म सम्पत्ति विरवरण बुझाउन सूचना जारी गरेको हो । परिषद्का प्रवक्ता मानवबहादुर कार्कीका अनुसार यही भदौ २८ गते सम्म प्रधानन्यायाधीश सहित सम्पूर्ण न्यायाधीशहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
न्यायलयमा न्याय परिषद् ऐन, २०७३ आउनु अघिको दुई-दुई वर्षमा बुझाउने व्यवस्था थियो । त्यसमा पनि नबुझाउनेका लागि कुनै पनि कारवाहीको व्यवस्था थिएन । न्याय परिषद् ऐन, २०७३ ऐन आएपछि सबै न्यायाधीशले अनिवार्यरुपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ । सम्पत्ति विवरण नबुझाएमा रु पाँच हजार जरिवाना लाग्नेछ । प्रवक्ता कार्कीका अनुसार यस अघि १६ जना न्यायाधीश जरिवानामा परेका थिए ।
सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी हाल प्रधानन्यायाधीश सहित ४४८ न्यायाधीश रहेका छन् । बन्दाबन्दीको अवस्था भएको हुनाले हुलाक, कुरियर वा अन्य कुनै निकायबाट भए पनि तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउन परिषद्ले सूचना जारी गरेको हो ।
सार्वजनिक बिदा बाहेक परिषद्को कार्यालय बिहान १० बजेदेखि ५ बजे सम्म खुल्ला रहने सूचनामा उल्लेख छ ।





















