रौतहट / रौतहट जिल्लाको राजपुर नगरपालिका ५ फरहदवा स्थित श्री जनता नमुना माध्यमिक विद्यालयले टोलटोलमा सामाजिक दूरी कायम गरी पढाई सञ्चालन गरेको छ।
विद्यालयले सुरक्षा मापदण्ड अपनाएर टोलटोलमा शिक्षक खटाई पठनपाठन सञ्चालन गरेको हो।
भदौ ९ गतेबाट पठनपाठन थालिएको हो। ‘कोरोना त्रास भए पनि नगरपालिकाको स्वीकृतिमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गरेका छौँ, कोरोना संक्रमणबाट हामी धेरै सजगता अपनाएका छौँ, विद्यालयलका प्रधानाध्यपक विजयकान्त मिश्रले जानकारी दिए ।
टोलटोलमा शिक्षकलाई खटाएर प्रत्यक्ष रुपमै पढाइ सिकाएका छौँ। पहिला पनि यसैगरी सिकाएका थियो। तर, संक्रमण बढेपछि बन्द गरेका थियौँ।’ उनका अनुसार दुई मिटर दूरीमा गोलो घेरा लगाइएको छ। त्यहीँ राखेर ८ र १० जनाको समूहमा विद्यार्थीलाई डेढ घण्टासम्म पढाइन्छ।
‘शिक्षकलाई मास्क लगाउन दिइएको छ,’उनले भने,‘विद्यार्थीलाई पनि अनिवार्य मास्क लगाउन लगाइएको छ। त्यस्तै, सेनीटाइजर,साबुनको पनि व्यवस्था गरिएको छ।’ उनका अनुसार विद्यालयमा कक्षा १ देखि १२ कक्षा सम्ममा एक हजार ५९ जना विद्यार्थी रहेका छन्।





















