काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र हाजिर हुन सूचना निकालेको छ । अख्तियारले बुधबार सूचना जारी गरेर सात दिन भित्र हाजिर हुन निर्देशन दिएको हो ।
‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्ट सँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित भएको छ’, अख्तियारको सूचनामा भनिएको छ । बयानका लागि अख्तियारमा आउन ७ दिनको म्याद दिएको छ ।
‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत सक्षम सम्पर्क राख्न आउनु होला, नआए कानून बमोजिम भई जानेछ’, सूचनामा भनिएको छ ।
मिश्रको सार्वजनिक गरेको घुस काण्डको अडियो टेपका कारण गोकुल बास्कोटाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री पद गुमाउनु परेको थियो ।
कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचार जस्तो राज्य विरुद्धको अपराधबाट उम्कन सक्दैन भन्दै मिश्रले भनेका छन्, ‘सामाजिक सञ्जाल र पत्रपत्रिका मार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रिन चरित्र हो ।’
उनले आफूलाई भाग्यो भनेर आरोप लगाउनु न्यायलाई विचलित पार्न, अनुसन्धानलाई फितलो बनाउन, जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रोपोगान्डा भएको दाबी गरेका छन् ।





















