काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओली र हसिना बीच दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको हो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बंगलादेशकी प्रधानमन्त्री हसिनासँग दुई देशबीचको सम्बन्धका विभिन्न आयामबारे छलफल भएको बताएका छन् । साथै, प्रधानमन्त्री ओलीले युरिया मलको तत्काल आपूर्तिमा सहयोग गर्न पनि हसिनासँग अनुरोध गरेका थिए ।
आफ्नो उक्त प्रस्तावप्रति हसिनाले सकरात्मक प्रतिक्रिया दिएको ओलीको भनाइ छ ।
‘आज साँझ मैले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोनमार्फत नेपाल–बंगलादेशको सम्बन्धका विभिन्न पक्षबारे फलदायी वार्ता गरे । युरिया मलको तत्काल आपूर्तिका लागि मैले गरेको आग्रहलाई उहाँले सकारात्मक रुपमा लिनुभयो,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।





















