काठमाडौं / देशकै सबैभन्दा पुरानो वीर अस्पतालका चिकित्सक सहित ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीर अस्पतालका डाक्टर र नर्ससहित ७१ जनामा बुधबार सम्ममा कोरोना संक्रमण पुष्टि भएको हो। मंगलबार आएको रिपोर्ट अनुसार थप १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरुलाई जमल स्थित एल्लो प्यागोडा होटलको आइसोलेसनमा राखिएको छ।
मंगलबार दिउँसो थप तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी सहित १६ जनामा कोरोना संक्रमण देखिए पछि वीर अस्पताल प्रशासनले बुधबार र बिहीबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छ। हालसम्म वीर अस्पतालमा मात्रै १२ जना चिकित्सक, १२ भन्दा बढी नर्स, अन्य स्वास्थ्यकर्मी र कर्मचारीसहित ७१ जनामा कोरोना पुष्टि भइसकेको हो।
चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सि दुई दिनका लागि ओपिडी सेवा बन्द गरिएको छ। अस्पतालले आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ।
कोरोना नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरे पनि त्यसको प्रभावकारी पालना हुन सकेको छैन।





















