रौतहट / विजय रामको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टरसहित तीन प्रहरी निलम्बनमा परेका छन्।अहिले गरुडामा नयाँ डिएसपी नरेन्द्र कुँवर आएका छन्।
प्रहरी निरीक्षक (इन्स्पेक्टर ) नवीन सिंह र हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंह निलम्बनमा परेका हुन्। इन्स्पेक्टर सिंहलाई प्रहरी प्रधान कार्यालय र हवल्दारद्वयलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी प्रमुख डिआइजी धीरज प्रताप सिंहले विजय राम मृत्यु प्रकरणबारे छानबिन भइरहेकोले तत्काल उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार छानबिन पूरा नभएसम्म उनीहरू निलम्बनमा रहने छन्।
इलाका प्रहरी कार्यालय गरुडाले निरञ्जन राम हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको थियो। जसमध्ये विजय रामलाई अनुसन्धानका क्रममा जिल्लाबाट खटिएका इन्स्पेक्टर सिंह र हवलदारद्वयले यातना दिएका थिए ।
यातनापछि नेसनल मेडिकल कलेज वीरगन्जमा भर्ना भएका रामको मृत्यु भएको थियो। रामको मृत्युपछि गरुडामा दैनिक जसो प्रदर्शन भइरहेको छ। दलित अगुवाहरुले रामलाई यातना दिने प्रहरीलाई कारबाही माग गर्दै आएका थिए। घटना छानबिनका लागि टोली गठन भएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज तथा डिएसपी ज्ञानकुमार महतोलाई भने प्रदेश प्रहरी कार्यालयमा तानिएको छ।





















