चितवन / चितवनमा आज (शुक्रबार) थप दुइ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भयो ।
भरतपुर १० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका बडा नम्बर २ का ५१ वर्षीय पुरुषको आज (शुत्रबार) विहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले जानकारी दिएका हुन् । डा. पाण्डेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भेन्टिलेटरमा उपचार गर्दा गर्दै बिरामीको मृत्यु भएको उहाँले बताउनुभयो।
ती पुरुष लामोसमय देखि फोक्सोको दमको बिरामी रहेको डा पाण्डेले बताएका छन् । भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। गत भदौं ५ गते विहानै १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना भएपछि ती पुरुषको गम्भिर अवस्थामा आइसीयूमा राखेर उपचार गरिएको थियो ।
उनको तत्कालै कोरोना परीक्षणका लागि स्वाब संकलन गरि प्रयोगशाला पठाउँदा सोमबार राति रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई सघन कक्ष (आइसीयू) मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पुष्पाञ्जली अस्पतालमा हाल एक जना संक्रमितको आइसीयूमै उपचार भइरहेको छ भने अर्का एक जना डिस्चार्ज भएका छन् ।
यस अघि आज विहानै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको पनि मृत्यु भएको छ।
त्यस्तै आज शुक्रबार विहान ६ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा . दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनिया र दमको बिरामी ती महिलालाई यही भदौं ७ गते उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको हो।
उति नै बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सो अस्पतालमा अहिले पनि ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार भइरहेको श्रोतले बताएको छ। जसमध्ये तीन जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।





















