एजेन्सी /प्रसिद्ध भिडियो एप टिकटकका प्रमुख कार्यकारी केभिन मायर ले राजीनामा दिएका छन्। टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच रस्सा कस्सी चलिरहेका बेला केभिनले राजिनामा दिएका हुन्।
ट्रम्प प्रशासनले टिकटकका चीनियाँ स्वामित्वकर्ता माथि एप बेच्न दबाव दिँदै आएको छ। टिकटकका कारण सुरक्षा खतरा पैदा भएको अमेरिकाको तर्क छ। केही दिन अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनभित्र अमेरिकी कम्पनीको स्वामित्वमा नआएमा टिकटक माथि प्रतिबन्ध लगाउने धम्की दिएका थिए।
‘पछिल्ला केही सातायता राजनीतिक वातावरणमा द्रुत परिवर्तन देखिएको छ। यस्तोमा‚ कर्पोरेट संरचनामा केकस्ता परिवर्तन जरुरी छ र त्यसले मेरो भूमिकालाई के–कसरी परिभाषित गर्छ भन्नेबारे मैले केही महत्वपूर्ण कार्य गरेको थिएँ’‚ ५८ वर्षीय केभिनले आफ्ना कर्मचारीलाई पठाएको इमेलमा लेखेका छन्‚ ‘हामी छिट्टै एउटा संकल्पमा पुग्ने अपेक्षा पनि थियो। तर‚ भारी हृदयका साथ कम्पनी छाड्ने निर्णयमा पुगेको यहाँहरूलाई अवगत गराउन चाहन्छु।’ टिकटकले केभिनको निर्णयको स्वागत गरेको छ।
‘केही महिना यता देखिएको राजनीतिक उतार चढावले केभिनको भूमिकाबारे प्रश्न उब्जाएको थियो। यस सन्दर्भमा उनले लिएको निर्णयप्रति हामी सम्मान व्यक्त गर्छौं। उनलाई धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्छौं‚’ टिकटकले एक वक्तव्य जारी गर्दै भनेको छ। मायर टिकटक कम्पनीमा आउनु अघि डिज्नी कम्पनीका कार्यकारी प्रमुख थिए।





















