काठमाडौं / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम राष्ट्रिय चिकित्सा शिक्षा आयोगले खारेज गर्ने निर्णय गरेको छ ।
चिकित्सा शिक्षा ऐनको दफा ४२ मा टेकेर साउन ३० मा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको बताईएको हो । आयोगले दफा १५ (४)अनुसार परिषद्ले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम यसै शैशिक्षक सत्रबाट संचालन नगर्ने नगराउने निर्णय गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले एसएलसी सरहका सबै कार्यक्रम खारेज गरिएको बताए ।
प्रा.डा. श्रीकृष्ण गिरीका अनुसार ’एसएलसी सरहका अनमी, सिएमए, ल्याब असिस्टेन्ट लगायत कार्यक्रम अबको शैक्षिक सत्रबाट खारेज गर्ने निर्णय गरेका छौँ’, योसँगै अनमी, सिएमए, ल्याब असिस्टेन्ट लगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ । आयोगले स्तरोन्नति गर्न सक्ने अवस्थामा लचिलो बन्ने निर्णय गरेपछि धेरै कलेजहरु प्रभावित हुनेछन् ।
आयोगले विश्वविद्यालय प्रतिष्ठान र त्यस अन्तर्गतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्ने नगराउने र संचालमा रहेका यस्ता कार्यक्रमहरु को अध्ययन अवधि पूरा भएपछि स्वतः फेज आउट हुने निर्णय गरेको छ ।
यस अघि चिकित्सा शिक्षा ऐन आउने समयमै यो विषयमा निकै ठूलो विवाद भएको थियो । ऐनमा समेत फेज आउट गर्दै जाने शब्द उल्लेख गरेर तोकिए अनुसार स्तरोन्नतिको व्यवस्था पनि गरिएको थियो । तर प्रस्तावित चिकित्सा शिक्षा नियमावलीमा विषय मिल्ने अवस्थामा अपग्रेट वा गाभ्ने गरी खारेजीको व्यवस्था गरिएको छ ।





















