चितवन / चितवनको भरतपुर स्थित वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड १९ (कोरोना भाईरस)को परिक्षण सुरु गर्ने भएको छ ।
स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न लागेको हो ।अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमका अनुसार भईरहेको प्रयोगशालामा रु २५ लाखको उपकरण थप गरि प्रयोगशाला तयार गरिएको हो । गौतमका अनुसार प्रयोगशालाको सम्पूर्ण काम सम्पन्न भई सकेको छ । उहाँले भन्नुभयो “क्रश चेकिङ्गको काम भईरहेको छ । अब हामी परिक्षण गर्न सक्छौ ।”
अस्पतालले स्वास्थ्य तथा तजनसंख्या मन्त्रालयलाई प्रयोगशालाको निरिक्षण गरि अनुमती दिन अनुरोध गरी सकेको छ । गौतमका अनुसार मंगलबारबाट प्रयोगशाला संञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि सबै काम सम्पन्न भई नसकेकाले आगामी हप्ताबाट परिक्षण सुरु हुने भएको हो ।
संक्रमण बढ्दै गएका कारण पिसिआर परीक्षण बिना बिरामीलाई जाँच्न नसक्ने अवस्थामा अस्पताल पुगे पछि आफ्नै प्रयोगशालालाई पिसिआर परिक्षण गर्ने गरि व्यवस्थित गरिएको हो ।
आफ्नो प्रयोगशाला नहुँदा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ढिलाई भइरहेको भन्दै गौतमले भन्नुभयो “धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा हामीले समयमै रिपोर्ट पाउन सकेनौं, सेवा नै बन्द गर्नुपर्ने अवस्था आयो ।” गौतमका अनुसार प्रयोगशालामा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र स्थानीयको परिक्षण प्रथामिकतामा राखिने छ । शुल्क के कति लिने भन्ने विषयको टुङ्गो मन्त्रालयको परामर्शमा संञ्चालक समितिले गर्ने उहाँले जानकारी दिनुभयो । प्रयोगशालाले एक सिफ्टमा ९६ जनाको नतिजा निकाल्न सक्छ । हाल भरतपुर अस्पतालले संञ्चालन गरेको प्रयोगशाला त्यतिनै क्षमताको हो ।
क्यान्सर अस्पतालमा प्रयोगशाला संञ्चालन गर्न सक्ने पाँच जना जनशक्ति पनि रहेका छन् । अस्पतालमा दैनिक ५ सय भन्दा वढि विरामी उपचारका लागि आउने गर्दछन् । नेपाल भरी र भारतबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्नछन् ।
हाल जिल्लामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशाला संञ्चालनमा रहेको छ ।





















