काठमाडौं / काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो ।
उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ ।
बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ ।
बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिध र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए ।
भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो ।






















