काठमाडौँ / विश्वविद्यालयहरूले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दशैं अघि नै सञ्चालन गर्ने जनाएका छन् ।
कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गरिने जानकारले जानकारी दिए ।
असोज भित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए । वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने जोड थियो ।
सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको छ।
अवस्थाअनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने छ । वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ ।
उच्च शिक्षामा अध्ययनरत ५ लाख ३८ हजारमध्ये ७७ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् । विद्यार्थी संख्या धेरै भएका कारण पनि कोभिडका बेला पठनपाठन र परीक्षा सञ्चालनमा असहज भएको छ। त्रिविमा ४ लाख १५ हजार ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् ।





















