काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले १ साता लगाएर तयार गरेको प्रतिवेदन बुझेका छन् ।
ओेलीका प्रेस संयोजक सूर्य थापाका अनुसार अध्यक्षद्वय अोली र प्रचण्डले कार्यदलले बनाएको प्रतिवेदन बुझेका हुन् ।
आज शनिबार झण्डै ८ घण्टा बैठक बसेर अन्तिम रूप दिइएको प्रतिवेदन कार्यदलले शनिबारै अध्यक्षद्वय ओली र प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो ।
गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरू डा. भीम रावल, जनार्दन शर्मा ‘प्रभाकर’, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भुसाल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलका एक सदस्यका अनुसार स्थायी कमिटीको बैठकलाई नियमित एजेण्डामा लैजाने, प्रधानमन्त्रीको राजीनामा बैठकको एजेण्डा नबनाउने, सैद्धान्तिक तथा विवादका अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने र चैतमा महाधिवेशन गर्ने गरी सुझाव दिइएको छ ।
त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेर मात्रै गर्ने लगायतका कुरा पनि समेटिएको छ ।





















