काठमाडौं / काठमाडौंको सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई नयाँ बानेश्वरको मिलन चोकका केही स्थानीय बासीले होस्टलमा जान बाट रोकेका छन् ।
स्वास्थ्यकर्मी राख्न भाडामा लिईएको होस्टलमा छिर्न नदिन काठमाडौं महानगरपालिका ३१ का स्थानीयले अवरोध गरेका हुन् । अस्पतालले आफ्ना चिकित्सक सहितका स्वास्थ्यकर्मीलाई नयाँ बानेश्वरको मिलन चोकमा आवास सुविधाका लागि भाडामा भवन लिएको थियो । टोलमा कोरोना संक्रमण फैलिने भन्दै स्थानीयले अवरोध गरेका हुन् ।
कोरोना महामारीको समयमा ’फ्रन्टलाइन’मा काम गर्ने चिकित्सकको आत्मबल बढाउनु पर्ने समयमा स्थानीयले अवरोध गरेर मनोबल गिराउने काम गरेका छन् । सरकारले बारम्बार स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न र सहयोग गर्न सर्वसाधारणसँग आग्रह गर्दै आएता पनि यहाँ उलङ्गन गरेका छन् ।
वडाअध्यक्ष नारायण प्रसाद भण्डारीका अनुसार पहिला भाडामा लिदा अस्पतालले वडामा एक पटक सम्पर्क गर्नुपर्थो , भवन लिएकोबारे हामीलाई जानकारी भएन । जानकारी भएको भए हामी सहयोग गरिहाल्थ्यौं । अवरोध गर्ने समूह कुन टोलका हुन् भन्न पत्ता लगाइरहेको उनले बताए ।
टोलबासीले शनिबार बिहान मात्र फोन गरेर त्यसबारे जानकारी गराएको भण्डारीले बताए ’चिकित्सकको मनोबल बढाइरहेका छौँ । सामाजिक काम हामीले पनि गरिरहेका छौँ’, उनले भने, ’तर, अस्पतालले हामीलाई यस्ता विषयमा जानकारी गराउनु पर्छ ।’
बानेश्वरमा चिकित्सकहरुलाई होस्टेल पस्न नदिन केही समय स्थानीयले अवरोध गरेका थिए । अस्पताल र स्थानीय बीच मौखिक सहमति भएपछि वातावरण सहज भएको उनले जानकारी दिए । ’कोरोनाको महामारीको बेलामा संक्रमण फैलिने भन्दै स्थानीयले विरोध गरेका रहेछन् बानेश्वर प्रहरी वृत्तका प्रहरी निरीक्षण किशोर कुमार न्यौपानेले बताए ।
अस्पतालको होस्टलमा ६ महिला र १ पुरुष स्वास्थ्यकर्मी बस्ने गरेको न्यौपानेले बताए ।
फाईल फोटो





















