चितवन / आज नेपाली महिलाहरुको महान चाड हरितालिका तीज हो । आज विवाहित महिलाहरु पतिको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तथा अविवाहित महिला सुयोग्य पति पाउँ भनेर भगवान शिवको पूजा आराधना गर्दै ब्रत बस्दैछन् ।
आज सामान्य अवस्थामा व्रत बसी विहानैदेखि शिवालय मन्दिरहरूमा पुग्ने व्रतालुहरू यसपटक घरमै बसेका छन् । कोरोना महामारीका कारण भक्तजन नआउँदा मन्दिरहरू सुनसान छन् ।हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेका थिए ।
हिमालयको योजना थाहा पाएपछि सखीहरूले पार्वतीलाई हरेर लुकाएर राखेको थिए । पार्वतीले त्यही लुकाएर राखिएको ठाउँमा श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको हो ।
भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिन देखि शुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धती सहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा मीठा परिकार खाने चलन छ । तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्ने जस्ता चलन पनि यस पर्वमा पाइन्छ ।
हरितालिका व्रतका प्रभावले हिमालय पुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्व बढेको हो । त्यसैले राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीजको व्रत बस्ने गरेको देखिन्छ । स्कन्ध र लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ ।
नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा महिलाहरू सजिने गर्छन् । यस अघिका वर्षहरूमा चितवनको विभिन्न शिव मन्दिरहरूमा ठूलो घुइँचो र पूजाआजा लाग्ने गर्थो , यसपालि कोरोनाले असर पारेको छ ।






















