चितवन / कोरोना विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई चितवनको भरतपुर १० मा रहेको चितवन मेडिकल कलेज (सि एम सि) ले प्रोत्साहन वापत दैनिक भत्ता दिने भएको छ ।
सरकारले शुरुमै कोरोनाको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो तर सो नियम सरकारी अस्पतालमा कार्यररत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि मात्रै थियो । अहिले कर्मचारीको जिज्ञासा मेटाउदै सिएमसीले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दैनिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै विभिन्न वार्डमा कार्यरत कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि छुट्टाछुट्टै भत्ता रकम उपलब्ध गराउने घोषणा गरेको हो । सिएमसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रो.डा.हरिशचन्द्र न्यौपानेले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । उनले अग्रपंक्तिमा रहेर कोरोनाको उपचारमा खटिने कर्मचारीका लागि विभिन्न वार्ड अनुरुप भत्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेजले कोरोना आइसीयूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रतिदिन रु.१००० , कोरोना वार्डमा कार्यरतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रतिदिन रु.७५० र कोरोना शंकास्पद बिरामीलाई राख्न बनाईएको वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रतिदिन रु.५०० प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
यस प्रोत्साहन भत्ता भदौं १ गते देखि लागू गरिएको अस्पतालका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.न्यौपानेले बताउनुभयो ।





















