चितवन । भरतपुर अस्पताल विकास समितिले स्वास्थ्य सेवामा विपन्न तथा अति सीमान्तकृत समुदायको पहुँचलाई थप सहज बनाउने उद्देश्यले महत्त्वपूर्ण निर्णय गरेको छ।
भरतपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष श्री क्षितिज पौडेलको अध्यक्षतामा पदाधिकारीसहित बसेको समितिको पहिलो बैठकले स्वास्थ्य बीमा भएका चेपाङ, प्रजा, अति सीमान्तकृत तथा विपन्न समुदायका बिरामीले उपचारका क्रममा व्यहोर्नुपर्ने १० प्रतिशत सह–भुक्तानी रकमसमेत निःशुल्क गर्ने निर्णय गरेको हो।
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भए पनि उपचारका क्रममा लाग्ने १० प्रतिशत सह–भुक्तानी रकम तिर्नुपर्ने व्यवस्थाका कारण आर्थिक रूपमा कमजोर तथा सीमान्तकृत समुदायका नागरिकलाई थप आर्थिक भार पर्ने गरेको छ।
समितिको यस निर्णयले त्यस्ता नागरिकको आर्थिक बोझ कम गर्दै स्वास्थ्य सेवामा पहुँच बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। नवनियुक्त अध्यक्ष पौडेलको नेतृत्वमा बसेको पहिलो बैठकबाटै सामाजिक न्याय, स्वास्थ्य सेवामा समान पहुँच र विपन्न नागरिकको हितलाई प्राथमिकतामा राखेर गरिएको यस निर्णयलाई जनमुखी तथा सकारात्मक पहलका रूपमा लिन सकिन्छ।
विशेषगरी चितवन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने चेपाङ, प्रजा लगायतका अति सीमान्तकृत समुदायका नागरिकका लागि यो निर्णय महत्त्वपूर्ण हुने देखिएको छ। स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार हो भन्ने मान्यतालाई व्यवहारमा उतार्ने दिशामा भरतपुर अस्पताल विकास समितिको यो निर्णय एक सराहनीय कदम हो।
समितिको पहिलो बैठकबाट गरिएको यस निर्णयले अस्पतालको सेवा प्रवाहलाई थप समावेशी, नागरिकमैत्री र विपन्नमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
























