काठमाडौं । नेपालीका महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल, रेस्टुरेन्ट, मिठाई पसल, चमेनागृह, क्याटरिङ तथा भोजनालय सञ्चालन गर्ने व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तर कायम राख्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक जरुरी सूचना जारी गर्दै चाडपर्वका समयमा राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने व्यवसायीले निर्धारित मापदण्ड पालना गर्नुपर्ने जनाएको हो ।
विभागले खाद्य व्यवसायीले स्वच्छता कायम राख्न विभिन्न १२ वटा आधारभूत मापदण्ड पालना गर्नुपर्ने जनाएको छ । जसअनुसार उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खानपानका सामग्री मात्र उपलब्ध गराउनुपर्नेछ । उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्नुपर्ने र बिक्रीका लागि राखिएका खाद्य सामग्रीमा उचित तापक्रमको व्यवस्था मिलाउनुपर्ने विभागले जनाएको छ ।
त्यस्तै, भान्सा तथा खाना वितरण गर्ने स्थान र सम्पूर्ण परिसर सफा राख्नुपर्नेछ । कामदार तथा कर्मचारीको व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने र खाना सफा भाँडाकुँडामा पकाउने तथा खुवाउने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।
खाद्य पदार्थ तयार गर्न प्रयोग गरिने पानी स्वच्छ र गुणस्तरीय हुनुपर्ने तथा कच्चा पदार्थ पनि सफा र गुणस्तरीय मात्र प्रयोग गर्नुपर्ने विभागको निर्देशन छ । खानाका लागि प्रयोग गरिने कच्चा सामग्रीको गुणस्तरमा सम्झौता नगर्नसमेत विभागले व्यवसायीलाई सचेत गराएको छ ।
विभागले पाकेका र नपाकेका खाद्य पदार्थ छुट्टाछुट्टै राख्नुपर्ने, उचित मूल्य लिएर मात्र खानपानका सामग्री बिक्री गर्नुपर्ने र तयार भएका खाद्य पदार्थलाई सुरक्षित तापक्रममा राखेर संरक्षण गर्नुपर्ने जनाएको छ । त्यसैगरी, बासी, झिँगा भन्केका, सडेगलेका, धुवाँ वा धुलो तथा फोहोर पानी मिसिएका खाद्य पदार्थ बिक्री गर्न नपाइने विभागले स्पष्ट पारेको छ ।
(सांकेतिक तस्बिरः एआई)
























