हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशका नागरिकलाई क्यान्सरलगायत जटिल रोगको उपचारमा दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा दिने भएको छ ।
संघीय सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँ उपचार सहायता सकिएपछि प्रदेश सरकारले थप ५० हजार रुपैयाँ उपलब्ध गराउने र महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरको उपचारमा थप ५० हजार रुपैयाँसम्म सहयोग गर्ने व्यवस्था गरेको हो ।
यो सुविधा लिन अस्पतालहरु सूचिकृत गरिएको छ । ती अस्पतालहरुमा चितवन मेडिकल कलेज (सिएमसी क्यान्सर इन्स्टिच्यूट), वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल, निजामती कर्मचारी अस्पताल, मनमोहन कार्डियो थोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर क्यान्सर अस्पताल रहेका छन् ।
यसैगरी बि एण्ड बि अस्पताल, क्यान्सर केयर नेपाल, काठमाण्डौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, धुलिखेल अस्पताल लगायत मन्त्रालयले सूचिकृत गरेका अस्पतालबाट यो सेवा लिन सकिने छ ।
प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) का अनुसार संघीय सरकारबाट प्राप्त हुने एक लाख रुपैयाँसहित प्रदेश सरकारको ५० हजार रुपैयाँ र स्तन तथा पाठेघरको मुखको क्यान्सरका लागि थप ५० हजार रुपैयाँ गरी लक्षित अवस्थाका बिरामीले अधिकतम दुई लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सक्नेछन्।
आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार प्रदेशले यस्तो सेवा लिन काठमाण्डौं र चितवनमा गरी १७ वटा अस्पतालसँग सम्झौता गरिसकेको छ । प्रदेश सरकारले क्यान्सर उपचारका लागि विभिन्न अस्पतालसँग सम्झौता गरी सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउँदै आएको छ। यसअघि पनि संघीय सरकारको एक लाख रुपैयाँ उपचार सहायता प्राप्त गरेपछि बागमती प्रदेश सरकारले थप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था लागू गरेको थियो।
मन्त्री तामाङले स्वास्थ्य उपचारमा आर्थिक अभाव बाधक बन्न नदिने गरी प्रदेश सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको बताउनुभयो । उहाँका अनुसार विशेषगरी विपन्न, सीमान्तकृत तथा उपचार खर्च धान्न कठिन हुने नागरिकलाई लक्षित गरी प्रदेश सरकारले स्वास्थ्य सहायता र सहुलियतका कार्यक्रम सञ्चालन गरिरहेको छ।
बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’मार्फत क्यान्सर, हृदय रोगलगायत नसर्ने रोगको परीक्षण, उपचार तथा आर्थिक सहायताका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रदेशमा स्थायी बसोबास गर्ने नागरिकलाई लक्षित गरी नसर्ने रोगको जोखिम पहिचान, परीक्षण, निदान तथा उपचारमा सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको मन्त्री तामाङले बताउनुभयो ।
मन्त्री तामाङले नागरिकलाई उपचारमा उपलब्ध सरकारी सहुलियतबारे जानकारी लिन र तोकिएका अस्पताल तथा प्रक्रियामार्फत सेवा लिन आग्रह गर्नुभयो ।
























