काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सम्भावित भारी वर्षा, बाढी, पहिरो, डुबान लगायतका जोखिमप्रति उच्च सुरक्षा सतर्कता अपनाउन सबैलाई अपिल गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीको पूर्वी भाग अर्थात् उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय मौसमी प्रणालीका कारण असोज ९ गतेदेखि ११ गतेसम्म नेपालका विभिन्न भागमा मेघ गर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेसँगै नेकपाले यस्तो अपिल गरेको हो ।
बिहीबार प्रवक्ता प्रकाश ज्वालाले अपिल जारी गर्दै नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक रूपमा बाढी, पहिरो, गेग्रान बाढी आउन सक्ने, डुबान हुनसक्ने, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम हुन सक्ने तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने अवस्था रहेको भन्दै सतर्कता अपनाउन अपिल गरेका हुन् ।
‘विशेष गरी नदी तथा खोलानाला आसपासका क्षेत्र, पहिरो जोखिमयुक्त पहाडी तथा भिराला भूभाग, डुबान हुनसक्ने क्षेत्र र उच्च हिमाली क्षेत्रमा सम्भावित जोखिम बढी भएकोले त्यस्ता क्षेत्रहरूमा थप सतर्कता आवश्यक छ’, अपिलमा भनिएको छ, ‘केही समयअघि मात्र रसुवा–भोटेकोशी विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएको र प्रभावित जन समुदाय अझै कठिन अवस्थामा रहेको परिवेशमा भारी वर्षाका कारण पुनः अर्को प्राकृतिक प्रकोपको सम्भावित जोखिमप्रति सबै पक्ष गम्भीर बन्नु जरुरी छ ।’
यस्तो परिस्थितिमा नेकपाले आम नागरिकलाई सम्भावित जोखिमबाट सुरक्षित रहनका लागि उच्च सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा तथा हिँडडुल नगर्न, लामो दुरी र रातीको समयमा यात्रा नगर्न, नदी–खोला किनार वा आसपास तथा बाढी–पहिरोको जोखिम भएका क्षेत्रमा नजान भनेको छ ।
‘जोखिमयुक्त स्थानमा रहेकाहरू समयमै सुरक्षित स्थानमा जान, पशु चौपाया, औषधि, बहुमूल्य धन सम्पत्ति, महत्त्वपूर्ण कागजात, खाद्यान्न, लत्ताकपडा आदि सुरक्षित राख्न विनम्रतापूर्वक अनुरोध गर्दछ’, अपिलमा भनिएको छ, ‘यस अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, असहाय एवं अपाङ्गता भएका व्यक्ति, गर्भवती एवं सुत्केरी महिला, बिरामी लगायत संवेदनशील समूहको सुरक्षाका लागि विशेष ध्यान दिन सबै तहका सरकार एवं सम्बन्धित पक्षसँग अपिल गर्दछ ।’
साथै, नेकपाले स्थल तथा हवाई यात्रा गर्नै पर्ने भएमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायको पछिल्लो सूचना र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

























