भरतपुर । गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)ले चितवन तथा आसपासका गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबारदेखि सुरु गरिएको सेवाअन्तर्गत गर्भवती महिलालाई सुत्केरी हुनुअघि अस्पतालसम्म ल्याउने र सुत्केरीपछि घरसम्म पु¥याउने दुवै सुविधा निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।
समयमै अस्पताल पुग्न नसक्दा गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सेवा सुरु गरिएको हो। आर्थिक अवस्था कमजोर भएका तथा यातायातको सहज पहुँच नभएका परिवारलाई यस सेवाले विशेष राहत पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, पुरानो मेडिकल कलेजमा सञ्चालनमा रहेको आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलाले चार पटकसम्म स्वास्थ्य सेवा लिएबापत यातायात खर्चका रूपमा २ हजार रुपैयाँसमेत उपलब्ध हुने अस्पतालले जनाएको छ।
आमा सुरक्षा कार्यक्रमबारे पर्याप्त जानकारी नहुँदा कतिपय गर्भवती महिला आवश्यक स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्थालाई मध्यनजर गर्दै अस्पतालले सेवा र सुविधाबारे जानकारीसँगै अस्पतालसम्मको पहुँच सहज बनाउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो।
समयमै अस्पताल, सुरक्षित मातृत्व र आमा–शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सुरु गरिएको यो सेवाले गर्भवती महिलाका लागि उपचारमा पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ।
























