चितवन – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य चितवनमा तीव्र पारिएको छ। चितवन प्रहरीले नारायणी नदीको किनार तथा आसपासका सम्भावित क्षेत्रमा खोजतलासलाई निरन्तरता दिएको हो।
बेपत्ताको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहितको विशेष टोली परिचालन गरेको छ। टोलीले नारायणी नदी किनारका विभिन्न सम्भावित स्थान पहिचान गरी खोजी गरिरहेको प्रहरीले जनाएको छ।
बाढीपछि नदीमा बगाएर ल्याइएका बेपत्ता व्यक्तिको खोजी तथा फेला परेका शवको व्यवस्थापनका लागि सुरक्षा निकायले निरन्तर अभियान सञ्चालन गरिरहेका छन्।
बेपत्ता आफन्तको अवस्थाबारे जानकारी नहुँदा परिवारजनमा चिन्ता बढिरहेका बेला खोजी कार्यलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। प्रहरीले सम्भावित स्थानमा खोजीलाई निरन्तरता दिँदै बेपत्ताको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको छ।





















