मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल्हीबाट बयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो।
प्रहरीका अनुसार स्कुटरको डिकी, अगाडिको फुटबोर्ड तथा चालकले बोकेको कालो झोलाभित्र लुकाइएको अवस्थामा रकम फेला परेको थियो। बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५ सय दरका ३ हजार १०८ थान, १ सय दरका ७ सय थान र ५० रुपैयाँ दरका २ सय थान नोट रहेका छन्।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा कोइरी घाइते भएका थिए। प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि म्याक्स अस्पताल मलङ्गवा लगिएको थियो। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कोइरीलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्र यादवसमेत सामान्य घाइते भएका थिए। उनीहरू उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
प्रहरीले बरामद रकम, स्कुटर र कोइरीलाई नियन्त्रणमा लिएर रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





















