काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य प्रणालीलाई प्रभावकारी बनाउन सरकारले सिक्ने संस्कार र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे।
उनले अहिलेको सरकारको निष्ठा र नियतमाथि शंका नगरे पनि काम गर्ने ढंग अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गरे। “यदि तपाईंलाई के थाहा छैन भन्ने नै थाहा छैन भने तपाईंलाई साँच्चै केही पनि थाहा छैन,” भन्दै उनले गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईको भनाइ उद्धृत गरे।
सबै कुरा आफूलाई थाहा छ भन्ने मानसिकताले विकासको गति रोक्ने भएकाले निरन्तर सिक्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
सांसद झाले शिक्षित समाजले मात्र लोकतन्त्र, राजनीति, सामाजिक सन्तुलन र न्यायलाई मजबुत बनाउन सक्ने उल्लेख गरे।
मधेसको अवस्थाप्रति सरकार अझै संवेदनशील हुनुपर्ने उनको धारणा थियो। उनले सीमा क्षेत्रमा सामान्य सामान बोकेर आउने गरिब नागरिकमाथि कडाइ गरिने तर विमानस्थलबाट महँगा सामान ल्याउने धनीमाथि सहज व्यवहार गरिने अवस्था विभेदपूर्ण भएको बताए। “बोर्डरमा आउने गरिब र एयरपोर्टमा आउने धनीलाई किन फरक व्यवहाररु” भन्दै उनले सरकारसँग प्रश्न गरे।
अर्थतन्त्रलाई चलायमान बनाउन मधेस, प्रवासी नेपाली र निजी क्षेत्रलाई विकासको साझेदार बनाउनुपर्ने सुझाव पनि उनले दिए। भारतको उदाहरण प्रस्तुत गर्दै उनले प्रवासी नेपालीको लगानी आकर्षित गर्न नागरिकता, भिसा र लगानीसम्बन्धी नीतिमा थप लचकता आवश्यक रहेको बताए।
निजी क्षेत्र अहिले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै उनले व्यवसायीहरूले प्रहरी देख्दा सुरक्षा होइन, छापा र धरपकडको त्रास महसुस गर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए।





















