बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ।
निर्माण कम्पनीले ३५ लाख रुपैयाँ पेस्की लिए पनि हालसम्म निर्माण कार्य सुरु नगरेपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन्।
गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार बुढीगंगा नदीमाथि पक्की पुल निर्माणका लागि २०७९ वैशाख ४ गते संघीय सरकारअन्तर्गत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीले एआर चन्द ग्रुप जेभी, कञ्चनपुरसँग ४ करोड १ लाख २२ हजार ४८४ रुपैयाँमा सम्झौता गरेको थियो।
सम्झौताअनुसार दुई वर्षभित्र अर्थात् २०८१ वैशाख मसान्तसम्म पुल निर्माण सम्पन्न हुनुपर्ने थियो। निर्माण कम्पनीले काम सुरु गर्ने प्रतिबद्धतासहित ३५ लाख रुपैयाँ पेस्कीसमेत लिएको थियो। तर, चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु भएको छैन।
समयमै काम सम्पन्न नभएपछि आयोजनाले एक वर्ष म्याद थपेर २०८२ वैशाख मसान्तसम्म पुर्याए पनि त्यस अवधिमा पनि कुनै प्रगति हुन सकेन। आयोजना कार्यालयका अनुसार ठेकेदार कम्पनी लामो समयदेखि सम्पर्कमा नआएकाले काम अघि बढाउन समस्या भएको छ।
गौमुल गाउँपालिका–२ का वडाध्यक्ष देवबहादुर रोकायाले सम्बन्धित निकायको बेवास्ताका कारण योजना अलपत्र परेको आरोप लगाए। उनका अनुसार सम्झौता भएको वर्षौं बितिसक्दा पनि न ठेकेदार जिम्मेवार बनेका छन्, न सरकारी निकायले प्रभावकारी पहल गरेको छ।
मार्तडीदेखि गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म करिब १२ किलोमिटर दूरी छ। त्यहाँ पुग्न दुईवटा नदी पार गर्नुपर्ने बाध्यता छ। घटमुना पुल निर्माण सम्पन्न भए गौमुल गाउँपालिकाका बासिन्दालाई मात्र होइन, बाजुराबाट बझाङ पुग्ने छोटो सडक मार्ग सञ्चालनमा समेत ठूलो सहजता हुने अपेक्षा गरिएको छ।
यस्तै, मार्तडी–गौमुल सडकअन्तर्गत ६ किलोमिटर कालोपत्रे गर्ने काम पनि सुरु भए पनि हाल अलपत्र परेको स्थानीयको गुनासो छ। स्थानीय बलबहादुर रोकायाका अनुसार सडक कालोपत्रे र दुईवटै नदीमा पक्की पुल निर्माण सम्पन्न भए गौमुल गाउँपालिका वर्षभरि नै सदरमुकाम मार्तडीसँग सहज सडक सञ्जालमा जोडिने थियो। तर निर्माण कार्य ठप्प हुँदा स्थानीयले अझै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।





















