काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केसीको स्थानमा इन्स्पेक्टर दीपक खरेललाई गोलबजार पठाइएको छ।
बिहीबार गोलबजारमा भएको झडपका क्रममा गोली लागेर औरही गाउँपालिका–२ का १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनापछि सिरहा, धनुषा र पर्साका केही क्षेत्रमा तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
यस्तै, शुक्रबार महोत्तरीको गौशालामा भएको प्रदर्शनपछि इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टरको पनि काज सरुवा गरिएको छ। त्यहाँ इन्स्पेक्टर मधुसुदन विश्वकर्मालाई खटाइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले थप तीन जना इन्स्पेक्टरको पनि काज सरुवा गरेको छ। कास्कीको वडा प्रहरी कार्यालय रामबजारमा सरिता मगर, ललितपुरको प्रहरी प्रभाग बाँडेगाउँमा यशोदा घले तथा सर्लाहीको इलाका प्रहरी कार्यालय हरिवनमा सुरेन्द्र विक्रम बर्तौलालाई खटाइएको छ।
यससँगै तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पनि सरुवा गरिएको छ। कास्कीको वडा प्रहरी कार्यालय बैदाममा सूर्यबहादुर बोगटी, जिल्ला प्रहरी कार्यालय भोजपुरमा ज्ञानबहादुर खड्का र प्रहरी वृत्त बौद्धमा मदनजित महरालाई जिम्मेवारी दिइएको छ।
महरा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।





















