काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
रास्वपाले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
मंगलबार सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
रास्वपाले कुनै पनि समस्या, असहमति वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, सामाजिक एकता र धार्मिक सहिष्णुताको संरक्षण गर्न सबै पक्षलाई अपिल गरेको छ। उत्तेजनात्मक अभिव्यक्ति वा गतिविधिबाट टाढा रहँदै संयमता अपनाउनुपर्ने अहिलेको आवश्यकता भएको पार्टीको भनाइ छ।
विज्ञप्तिमा सरकारले तत्काल शान्ति–सुरक्षा कायम गर्न, आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा परिस्थितिलाई सामान्य बनाउन प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ।
साथै घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई न्याय, राहत र आवश्यक उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ।
रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा आफू सधैं उभिने प्रतिबद्धता दोहोर्याउँदै संवाद र सहमतिमार्फत समस्या समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।
साथै, पार्टीले यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवालालाई अपिल गर्दै आफ्ना स्थानीय समिति र कार्यकर्तालाई पनि शान्ति तथा सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।





















