काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई आइतबार बिहान नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरूमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रश्नपत्र बाहिरिएको समाचार सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीसँग छलफल गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन निर्देशन दिएको थिए।
त्यसअघि मन्त्री पोखरेलले शिक्षा मन्त्रालयमा सम्बन्धित अधिकारी तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरी घटनाको छानबिन, दोषीमाथि कारबाही र परीक्षा प्रणालीको विश्वसनीयता कायम गर्ने विषयमा परामर्श गरेको थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिले ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाएको खुलेको छ।
गत साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि ‘टियु स्टुडेन्ट्स’ नामक फेसबुक पेजले ह्वाट्सएप समूहका स्क्रिनसट सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो।
घटनापछि व्यवस्थापन संकायको डीन कार्यालयले साइबर ब्युरोसँग अनुसन्धानका लागि समन्वय गरेको थियो। साथै, परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेको छन्।
समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको विश्वविद्यालयले जनाएको छ।





















