सांकेतिक तस्विर AI द्वारा निर्मित
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय बहुभाषिक कवि सम्मेलन आयोजना गरिएको छ।
हुलाकी सडक सङ्घर्ष समितिको आयोजनामा बरियारपट्टीस्थित जनता माध्यमिक विद्यालयमा सम्पन्न सम्मेलनमा विभिन्न भाषाका कविहरूले हुलाकी सडक र कमला पुलको दयनीय अवस्थालाई कवितामार्फत प्रस्तुत गर्दै सरकारसँग तत्काल निर्माण सम्पन्न गर्न माग गरेका हुन्।
धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माणका लागि स्थानीयवासीले विगत एक दशकदेखि प्रदर्शन, जुलुस, सडक अवरोध, घेराउ, विज्ञप्ति र आमरण अनशनसम्मका आन्दोलन गर्दै आएका छन्। यसपटक भने उनीहरूले आन्दोलनलाई फरक शैली दिँदै कवितामार्फत सरकारलाई नैतिक दबाब सिर्जना गर्ने प्रयास गरेका छन्।
हुलाकी सडक सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले सम्बन्धित निकायलाई जनभावना बुझाउन र निर्माण कार्यलाई गति दिन दबाब सिर्जना गर्ने उद्देश्यले कवि सम्मेलन आयोजना गरिएको बताए।
‘हुलाकी सडक र यसका पुलहरूको दशा, दिशा र दुर्दशा’ लाई मुख्य विषय बनाएर आयोजित सम्मेलनमा झापाका कवि केशव आचार्य, उर्दू भाषाकी कवि साहिदा बानो शाहसहित करिब ५० जना कविको सहभागिता रहेको थियो।
कार्यक्रममा सिरहाका विभिन्न माध्यमिक विद्यालय र क्याम्पसका २५ जना विद्यार्थी पनि सहभागी भएका थिए। सहभागीहरूले हुलाकी सडक र कमला पुल समयमै निर्माण नहुँदा स्थानीयले वर्षौंदेखि भोग्दै आएको सास्ती अन्त्य गर्न सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।





















