काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा नियमविपरीत राखिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई तीव्रता दिएको छ ।
अभियान सुरु भएयता हालसम्म उपत्यकाका विभिन्न स्थानमा नियमविपरीत कालो सिसा प्रयोग गर्ने २१८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार १४ असार आइतबारदेखि सुरु भएको यस अभियानअन्तर्गत पहिलो दिन १० वटा, १५ गते ९९ वटा, १६ गते ८७ वटा र १७ गते बुधबार २२ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार अनुमतिबिना गाडीमा कालो सिसा राख्नु कानुनको उल्लंघन हो ।
“सवारी साधनको कालो सिसाका सम्बन्धमा कारबाही गर्ने अधिकार यातायात व्यवस्था विभागले प्रदेश यातायात कार्यालयलाई हस्तान्तरण गरिसकेको छ,” एसएसपी काफ्लेले भने, “त्यसैले अहिले ‘बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५’ को दफा १३६ बमोजिम कारबाही भइरहेको हो ।
जरिवाना तथा कारबाहीको थप प्रक्रिया एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमार्फत अगाडि बढ्छ ।”
ट्राफिक प्रहरीका अनुसार यो कुनै नयाँ नियम नभई वर्षौँदेखि कायम कानुनको कार्यान्वयन मात्र हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १२ मा यसबारे व्यवस्था छ ।





















