विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक हुलाकी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको छ भने उनकी श्रीमती रामपरी यादव घाइते भएकी छन्।
प्रहरीका अनुसार विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी ५० वर्षीय वरिष्ठ सई यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो ४:१६ बजे उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार उनकी पत्नी ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
उनी चिमडी बजारतर्फ एक्स–रे सेवासम्बन्धी कामका लागि जाँदै गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।





















