काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन्। यो कुल सहभागीमध्ये ६९.७५ प्रतिशत हो। बाँकी १ लाख ४७१ जना विद्यार्थी नन-ग्रेडेड भएका छन्।
नतिजाअनुसार ३.६१ देखि ४.०० जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना तथा २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ५० हजार ५९७ जना विद्यार्थी ग्रेडेड भएका छन्।
यसैगरी, २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार ३०८ रहेको छ भने १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ९ जना रहेको बोर्डले जनाएको छ।
आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३६ हजार ४२० जना मात्र ग्रेडेड भएका छन्, जुन कुल सहभागीको ४२.३८ प्रतिशत हो।
नियमित र आंशिक दुवैतर्फका परीक्षार्थी जोड्दा कुल ४ लाख १८ हजार १७० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ६८ हजार १९० जना ग्रेडेड भएका छन्। यस आधारमा समग्र ग्रेडेड प्रतिशत ६४.१३ रहेको छ।
परीक्षा सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी कुल ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।





















