काठमाडौँ। औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ।
विभागले मङ्गलबार जारी गरेको सूचनामा कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको दर्ता प्रमाणपत्र स्वत: खारेज भएको उल्लेख गरेको छ।
विभागका अनुसार नवीकरणको निर्धारित अवधि सकिएर पनि नवीकरण नगरिएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९० स्वत: रद्द भएको हो। यो व्यवस्था औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधन तथा सोही दफाको उपदफा (५) बमोजिम लागू गरिएको हो।
विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वत: रद्द भएका औषधि पसलहरूको सूचीसमेत सार्वजनिक गरेको छ। कानुनी प्रावधानअनुसार सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालाहरूलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेकाले उक्त सूचना प्रकाशित गरिएको विभागले जनाएको छ।
प्रमाणपत्र रद्द भएका औषधि पसलहरूले अब कानुनी रूपमा औषधि बिक्री–वितरण तथा पसल सञ्चालन गर्न पाउने छैनन्।
यसैबीच, विभागले सम्पूर्ण औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न तथा आवश्यक कानुनी प्रक्रिया तत्काल पूरा गर्न आग्रह गरेको छ।
साथै, औषधि व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुन र विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न निर्देशन दिँदै जनस्वास्थ्यमा असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।






















