कहिलेकाहीँ हामीलाई हाम्रो शरीर पोलिरहेको, अनुहार रातो भएको जस्तो लाग्छ । तर जब शरीरको तापक्रम जाँच्छौँ ज्वरो आएको हुँदैन ।
शरीर किन यति धेरै तातो छ? के यो सामान्य हो ? यस्तो प्रश्नहरू मनमा उठ्नु स्वाभाविक हो । यो कुनै रोगको कारणले गर्दा भएको हुँदैन । बरु शरीर भित्र हुने साना परिवर्तनले गर्दा हुन्छ ।
हर्मोनल परिवर्तनहरू:
हर्मोनले हाम्रो शरीरमा धेरै असर गर्छ । यदि हर्मोनमा उतारचढावहरू भइरहेका छन् भने, शरीर चाँडै तातो हुन सक्छ । यो समस्या रजोनिवृत्ति, महिनावारी वा गर्भावस्थाको समयमा महिलाहरूमा देख्न सकिन्छ । तनाव वा हर्मोनमा असन्तुलनले पनि कम उमेरमा यो समस्या निम्त्याउन सक्छ ।
तनाव:
जब हामी तनावमा हुन्छौँ, शरीरले तनाव हर्मोन निकाल्छ । यति बेला मुटु छिटो छिटो धड्किन्छ, अनुहार रातो हुन्छ । शरीरमा गर्मी र बेचैनी महसुस हुन्छ । आफूलाई स्वास्थ्य राख्न तनाव र चिन्ता कम गर्नु जरुरी छ ।
थाइराइड असन्तुलनः
थाइराइड अत्यधिक सक्रिय छ भने चिसो मौसममा पनि शरीर तातो महसुस हुन सक्छ । यसले अत्यधिक पसिना आउने, निद्रा नलाग्ने र घबराहट जस्ता लक्षणहरू निम्त्याउन सक्छ ।
डिहाइड्रेसनः जब शरीरमा पानीको कमी हुन्छ, शरीरले पसिना बनाएर आफूलाई शीतल बनाउन सक्दैन, जसले भित्रैबाट गर्मी, टाउको दुख्ने र चक्कर लाग्ने जस्ता समस्या भोग्नु पर्ने हुन सक्छ ।
के गर्ने ?
प्रशस्त पानी पिउनुहोस् ।
हल्का र खुकुलो लुगा लगाउनुहोस् ।
मसलादार खाना, क्याफिन र मदिराको सेवन कम गर्नुहोस् ।
ध्यान गर्नुहोस् वा हल्का हिँडडुल गर्नुहोस् । -एजेन्सीको सहयोगमा






















