काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीमान् तथा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ परिसकेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भुजेलको मृत्यु घटनामा जाहेरी परेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोटको तारकेश्वर–४ का ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारस्थित घरमा भएको घरायसी विवादका क्रममा कुमार थापाले आफ्नी श्रीमतीमाथि फलामको रड तथा धारिलो हतियार प्रहार गरेका थिए।
घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार राति करिब १०:१० बजे भएको उक्त घटनापछि प्रहरीले थापालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
कुमार थापाले आफूलाई ‘नेपाली ब्रो’ नामबाट चिनाउँदै प्रो रेस्लरका रूपमा परिचित गराउने गरेका थिए। प्रहरीले घटना सम्बन्धी सबै पक्षमाथि अनुसन्धान गरिरहेको जनाएको छ।





















