चितवन । डा. भोजराज अधिकारीले आफ्नो पेशागत दक्षता, अनुभव र योगदानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा केन्द्रित गर्ने उद्देश्यसहित वर्तमान राजनीतिक आबद्धताबाट अलग हुने घोषणा गर्नुभएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा डा. अधिकारीले २०८३/२/ २२ गते कै मितिदेखि राजनीतिक रूपमा आफू संलग्न सबै पद, जिम्मेवारी र सक्रिय दायित्वबाट अलग हुने निर्णय गरेको जानकारी दिनु भएको हो ।
उहाँले आफ्नो राजनीतिक यात्राका क्रममा प्राप्त ज्ञान, अनुभव, वैचारिक प्रशिक्षण तथा निर्वाह गरेका भूमिकाप्रति सम्मान व्यक्त गर्दै इतिहासबाट सिक्नुपर्ने र आफू हुर्किएको वैचारिक परिवेशप्रति सदैव सम्मान रहने बताउनु भएको छ ।
डा. अधिकारीले वर्तमान समय कुनै निश्चित विचारधाराको प्रतिस्पर्धाभन्दा पनि विकास, सुशासन, नवप्रवर्तन र परिणाममुखी कार्यसम्पादनको प्रतिस्पर्धामा रहेको धारणा व्यक्त गर्नुभएको छ ।
यही विश्वासका साथ अब पेशागत कर्मसँगै समाजसेवाका विविध आयाममार्फत सचेत नागरिकको रूपमा समाज र राष्ट्रप्रति योगदान जारी राख्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
उहाँको यो निर्णयलाई राजनीतिक तथा सामाजिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, उहाँले भविष्यमा कुनै नयाँ राजनीतिक भूमिका वा आबद्धताबारे भने कुनै धारणा सार्वजनिक गर्नुभएको छैन । कतिपयले उहाँलाई नयाँ राजनीतिक शक्तिमा समाहित हुन सक्ने अड्कलबाजीबीच उहाँको यो धारणा आएको छ ।
डा. अधिकारी यस अघिको निर्वाचनमा नेकपा (माओवादी)का तर्फबाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवार हुनुहुन्थ्यो । पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्रका रुपमा हेरिएका डा. अधिकारीको पार्टी बहिर्गमनले तत्कालिन नेकपा (माओवादी) र हालको नेकपालाई चितवनमा ठूलो धक्का लाग्ने विश्लेषण गरिएको छ ।





















