काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत पुगेका छन्।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत पुगेका लामिछानेलाई नयाँदिल्लीस्थित विमानस्थलमा भाजपा महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।
लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य पनि भारत भ्रमणमा सहभागी छन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार लामिछानेको भ्रमण जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म रहनेछ। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उनले भाजपा नेतृत्व, भारतस्थित नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन्। साथै, अयोध्याको भ्रमण पनि उनको कार्यतालिकामा समावेश रहेको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार भ्रमणका क्रममा हुने भेटघाट, छलफल तथा अन्य कार्यक्रमका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ।





















