काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतहरूले जनाएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका लागि आवश्यक कूटनीतिक तथा प्रशासनिक तयारी भइरहेको छ। रास्वपाका एक पदाधिकारीले पनि भ्रमण निश्चित भइसकेको पुष्टि गरेका छन्।
यो भ्रमण रास्वपा प्रमुखको हैसियतमा लामिछानेको पहिलो विदेश भ्रमण हुने बताइएको छ। फागुन २१ पछि बनेको नयाँ राजनीतिक परिस्थितिमा यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
यसअघि भारत सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) लाई औपचारिक निम्तो पठाएको चर्चा भए पनि उनको भारत भ्रमण अझै तय भएको छैन।
यसै सन्दर्भमा लामिछानेको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक रूपमा चासोका साथ हेरिएको छ।





















