चितवन । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर रूपमा गरिरहेको मूल्यवृद्धिको विरोधमा आइतवार जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल तथा स्कुटर नचढाई हातले डोर्याएर विरोध र्याली निकालेको हो।
‘पेट्रोलियम पदार्थमा ६ कर माफ अभियान’ अन्तर्गत आयोजित र्याली चितवनको चौबीसकोठी चोकबाट सुरु भई लायन्सचोकमा पुगेर समापन भएको थियो। कार्यक्रममा सहभागी युवाहरूले “गरी खान देऊ” र “महँगीको मारमा सुशासन फरार” लगायतका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए।
आन्दोलनकारीहरूले सर्वसाधारणलाई महँगीको चर्को मारबाट राहत दिन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएका विभिन्न शीर्षकका ६ वटा कर तत्काल खारेज वा कटौती गर्नुपर्ने माग गरेका छन्।
माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी समेत आयोजकले दिएका छन्।




























