फाईल फोटो
बुटवल । चित्रबहादुर केसी ले संविधानबाट संघीयता हटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको संघीय संरचना देशले धान्नै नसक्ने दाबी गर्दै प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रियामा बोल्दै केसीले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्दै संघीयता हटाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले संघीयताले मुलुकको अर्थतन्त्र र राष्ट्रियतामाथि गम्भीर संकट निम्त्याएको जिकिर गर्दै प्रदेश संरचना हटाउन सके शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाउन सकिने दाबी गरे ।
केसीले संविधान संशोधनको नाममा निरंकुशता फर्काउने प्रयास हुन सक्ने भन्दै गणतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने बताए । “संसद, अदालत र अन्य संस्थामाथि कब्जा गरेर सत्तामा पुगेकाहरूले फेरि राजतन्त्र फर्काउने खेल खेल्न सक्छन्,” उनले भने ।
उनले संविधान संशोधनका मुद्दा तय गर्दा विदेशी हस्तक्षेपबाट मुक्त राष्ट्रियताको प्रश्नलाई केन्द्रमा राख्नुपर्ने बताए । साथै, वर्तमान सरकार र संविधान संशोधनका लागि बनेको कार्यदलप्रति आफूलाई विश्वास नरहेको पनि उनले स्पष्ट पारे ।
कार्यक्रममा उनले गणतन्त्र कमजोर हुने, राष्ट्रियतामा असर पुग्ने वा अस्थिरता निम्त्याउने कुनै पनि संशोधन स्वीकार्य नहुने बताए । संविधानको संस्थागत विकास, समावेशिता र गणतन्त्रको सुधारलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।
अध्यक्ष केसीले सरकारको भूमिहीन तथा अव्यवस्थित बसोबासीमाथिको व्यवहारप्रति पनि असन्तुष्टि जनाए । वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई डोजर लगाएर हटाउने काम जनविरोधी र निरंकुश शैली भएको भन्दै उनले सरकारको आलोचना गरे ।





















