काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिविरुद्ध आन्दोलनको आवश्यकता बढ्दै गएको बताएका छन् । उनले त्यसका लागि विभिन्न राजनीतिक तथा सामाजिक पक्षलाई तयार पार्ने काम भइरहेको उल्लेख गरेका हुन् ।
धनगढीमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि जनाए । उनले देशका विभिन्न क्षेत्रमा देखिएका आन्दोलनहरू स्वस्फूर्त मात्र नभई संगठित राजनीतिक पहलसँग समेत जोडिएको दाबी गरे ।
उनले पूर्वदेखि पश्चिमसम्म भइरहेको सुकुमवासी आन्दोलनमा आफ्नो पार्टीको सक्रिय भूमिका रहेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामग्री ल्याउँदा कर लगाउने सरकारी निर्णयले सर्वसाधारणमाथि अतिरिक्त भार परेको आरोप लगाए ।
प्रचण्डले न्यायपालिकामाथि प्रभाव पार्ने प्रयास भइरहेको दाबी गर्दै लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप बढेको टिप्पणी गरे । विद्यार्थी संगठन तथा ट्रेड युनियनहरूको अधिकार सीमित गर्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध व्यापक राजनीतिक र सामाजिक एकताको आवश्यकता रहेको बताए ।
कार्यक्रममा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावललगायतका नेताहरूको सहभागिता रहेको थियो । दुई दिनसम्म सञ्चालन भएको परामर्श तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि सहभागी नेताहरू फर्किएका छन् ।





















