काठमाडौं । विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ।
विपक्षी सांसदहरूले संसद्को वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव बहुमतबाट स्वीकृत भएको घोषणा गरेका हुन्।
उक्त विधेयकमाथि छलफलका लागि कुनै सांसद सहभागी भएनन्। प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्ताव पेस गरेकी थिइन्। तर विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने अडान राख्दै विरोध जारी राखेका छन्।
यसैबीच बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ। उक्त प्रस्तावमाथि पनि कुनै सांसदले छलफलका लागि नाम टिपाएका थिएनन्। विपक्षी दलहरूले राखेको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्।
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए।
स्थगितपछि बसेको दोस्रो बैठक भने विपक्षीको नाराबाजीकै बीच सञ्चालन गरिएको हो।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।
तर प्रधानमन्त्री शाह बैठकमा उपस्थित नभएपछि सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका हुन्।





















