काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कडा प्रतिक्रिया दिएका छन्।
पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे उठाइएका टिप्पणीको जवाफ दिएका हुन्।
उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया “परम्पराभन्दा बाहिर गयो” वा “असंवैधानिक भयो” भन्ने भनाइप्रति असहमति जनाए। उनका अनुसार यदि परम्परागत वरिष्ठता प्रणालीमै सीमित भएको भए अहिलेको भागबन्डा सम्बन्धी बहस अझै कायम रहने थियो।
लामिछानेले सिफारिस प्रक्रियाबारे बोल्दै भने, “६ जनाको साटो वरिष्ठतम् व्यक्तिलाई नै सिधै नियुक्त गर्ने व्यवस्था भए संवैधानिक परिषद्को आवश्यकता नै पर्थेन।”
उनले सिफारिस प्रक्रियाबाट आएका व्यक्तिहरूलाई आफ्नो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गरेको उल्लेख गर्दै परम्परा भत्काइएको भन्ने टिप्पणी अस्वीकार गरे।
अन्त्यमा उनले आलोचनाप्रति आक्रोश व्यक्त गर्दै कडा शब्द प्रयोग गरेका थिए। उनले आफू लक्षित असन्तुष्टिहरूलाई चुनौती दिँदै भने, “मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार।”
साथै उनले न्यायालयले औपचारिक वा कागजी न्याय मात्र होइन, आम नागरिकलाई व्यवहारिक रूपमा न्याय दिनुपर्नेमा जोड दिएका छन्।





















