भरतपुर – आफ्नो जन्मदिनलाई विशेष बनाउने क्रममा भरतपुर निवासी अबिरल पोख्रेलले आज ९९औं पटक रक्तदान गरेका छन्।
बिहानै परिवारसहित मन्दिर दर्शन गरेर फर्किएका पोख्रेलले त्यसपछि रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गरेका हुन्। निधारमा रातो टिका र अनुहारमा मुस्कान सहित रक्तदान गर्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
पोख्रेलले विगत लामो समयदेखि प्रत्येक तीन महिनामा नियमित रक्तदान गर्दै आएका छन्।
उनले भने, “जन्मदिन मनाउने सबैभन्दा राम्रो तरिका भनेको कसैको ज्यान बचाउन सक्नु हो। रगतको विकल्प अरु केही छैन, त्यसैले सक्नेले दान गर्नुपर्छ।”
रक्तसञ्चार केन्द्रका कर्मचारीका अनुसार ९९ पटक रक्तदान गर्नु आफैंमा उदाहरणीय कार्य हो। एक व्यक्तिले जीवनभरमा सयौंको ज्यान बचाउन सक्ने यो कार्यले अरुलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।
पोख्रेलले आफ्नो १००औं रक्तदान पनि विशेष कार्यक्रमका साथ गर्ने योजना रहेको बताए।
रक्तदान एउटा अत्यन्तै महत्त्वपूर्ण र पुनित कार्य हो, जसलाई महादान पनि भनिन्छ। यो एक व्यक्तिले आफ्नो रगत स्वेच्छाले अर्को व्यक्तिको ज्यान बचाउनका लागि दान गर्ने प्रक्रिया हो। रक्तदानले आकस्मिक दुर्घटना, शल्यक्रिया, वा गम्भीर बिरामीको ज्यान बचाउन प्रत्यक्ष मद्दत गर्दछ।
नेपालमा वि.सं. २००० सालदेखि रक्तदान सुरु भएको हो, जसको सुरुवात समाजसेवी दयावीरसिंह कंशाकारले गरेका थिए।





















