काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधानले जिम्मेवारी पाउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उहाँलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो।
चिकित्सा र प्राध्यापन क्षेत्रमा लामो अनुभव सँगाल्नु भएका प्रा.डा प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारको रूपमा नियुक्ति दिन लागिएको हो ।
चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेशा र प्राध्यापनमा सक्रिय प्रा.डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा प्राध्यापनरत हुनुहुन्थ्यो । उहाँ अस्पतालको जनरल प्राक्टिस तथा इमर्जेन्सी विभागको प्रमुख हुनुहुन्थ्यो भने कलेजको प्रिन्सिपलको रुपमा लामो समय काम गरिसक्नु भएको छ ।
पेशागत मर्यादा र दक्षताका कारण उहाँ दुई पटकसम्म नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत भईसक्नु भएको छ । उहाँ सन् २००७ देखि सन् २०१७ सम्म दुई पटक काउन्सिलको शिक्षा समितिको प्रमुख भई काम गर्नुभएको छ । उहाँले नेपाल चिकित्सक संघ, चितवन शाखाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ ।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय प्रा.डा. प्रधानले पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकका रूपमा काम गर्दै आउनु भएको थियो ।
प्रा.डा. प्रधान रास्वपाको समानुपातिक बन्दी सूचिमा समेत हुनुहुन्थ्यो । डा. प्रधानले ढाका विश्वविद्यालयबाट एमबिबिएस र आईओएमबाट एमडि गर्नुभएको छ ।
चिकित्सा क्षेत्रका प्राविधिक, नीतिगत र प्रशासनिक पक्षमा गहिरो दख्खल राख्ने उहाँको नियुक्तिले मन्त्रालयको कार्यसम्पादन र स्वास्थ्य नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।





















